मुगुको सोरु गाउँपालिकामा सुनसरह नुन : समयमा आपूर्ति नहुँदा स्थानीयलाई पीडा

कर्णाली प्रदेश मुख्य समाचार

‎मुगु, सोरु — जाडो मौसम शुरु भएसँगै उच्च हिमाली भूभागका स्थानीयका लागि अनिवार्य मानिने नुनको अभाव यस वर्ष पनि उस्तै देखिएको छ। समयमा नुन नपुग्दा सोरु गाउँपालिका तथा आसपासका बासिन्दाले गम्भीर समस्या खेपिरहेका छन्।
‎अदान्चुली गाउँपालिका–२ का एल.बी. सप्लायर्सका प्रतिनिधि तथा स्थानीय ठेकेदार लोकेन्द्र बर्ख बुढाका अनुसार प्रदेश स्तरीय ठेक्कामार्फत हुने नुन आपूर्ति यो वर्ष पनि मागअनुसार हुन सकेको छैन।
‎साल्ट ट्रेडिङ कर्पोरेसन, प्रदेश कार्यालय नेपालगञ्जले हरेक वर्ष नुन आपूर्तिका लागि ठेक्का खोल्दै आएको छ। गत वर्ष ९०० क्विन्टल नुन वितरण गरिएको थियो। तर यो वर्ष स्वीकृत १०८० क्विन्टल कोटामध्ये अहिलेसम्म करिब ६०० क्विन्टल मात्र गाउँपालिकामा पुगेको बर्ख बुढाले जानकारी दिनुभयो।
‎“ठेक्का त हरेक वर्ष खुल्छ तर दुर्गम क्षेत्रमा नुन पुर्‍याउन सजिलो हुँदैन। ढुवानी खर्च, बाटोको अवस्था र मौसम सबैले बाधा बनाउँछन्,” बर्ख बुढाले भन्नुभयो।
‎सोरु गाउँपालिकामा ३,२९० घरधुरी छन्, तर नुन वितरण वर्षमा एक–दुई पटक मात्र हुने भएकाले एक घरधुरीले २५–३० केजी नुन मात्र पाउने गरेको स्थानीयले बताएका छन्।
‎स्थानीय खाम्म नाथ भन्नुहुन्छ।“नुन त घरायसी कामसँगै भेडा–बाख्रा, गाई–भैसीका लागि पनि चाहिन्छ। तर वितरण हुने नुनले पुग्दैन। अनुदानको मुल्य ९ रुपैयाँ पर्ने नुन हिंउँदको सिजनमा नपुगेर बजारबाट ५० रुपैयाँमा १ केजी ओल्ली–पल्ली किन्नु पर्ने बाध्यता छ।”
‎उहाँका अनुसार बजारमा नुन महँगिनु र नियमित रूपमा नपाइने समस्या वर्षैभरि झेल्नुपर्छ।
‎अर्का स्थानीय अंख शाही भन्नुहुन्छ। “गाउँमै स्थायी नुन डिपो भएको भए वर्षैभरि नुन किन्न पाइन्थ्यो। अहिले नुन आउँदा लाइन बस्नु, झोलामा बोक्नु, नपुगेर फेरि बजार धाउनुपर्ने— ठूलो कष्ट छ।”
‎स्थानियले कर्पोरेसनले स्वीकृत कोटा अनुसार समयमै ढुवानी,गर्नुपर्ने, गोदाम र वितरण प्रणाली सुधार,
‎ र सोरु गाउँपालिकामा स्थायी नुन भण्डारण केन्द्र स्थापना गरिनुपर्ने जस्ता माग राखेका छ्न् ।
‎मुगुको सोरु, छायानाथ–रारा, खत्याड, र मुगुम–कार्मारोङका उच्च भूभागमा नुनको महत्त्व अत्यधिक छ। कठ्याङ्ग्रिने मौसम, पशुपालनमुखी जीवनशैली र कठिन भौगोलिक पहुँचका कारण यहाँ नुनलाई सुनसरह मूल्यवान मानिने गरेको छ।

Leave a Reply