बाजुरा, बडीमालिका नगरपालिकालाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषणा गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न सर्वेक्षण अनुसार, पालिकाका ९ वटै वडाका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाहरूले आवश्यक सबै खालका खोप प्राप्त गरिसकेको पाइएको हो।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले जानकारी दिनुहुँदै, ९ वडामा गरिएको अनुगमनमा जन्मेदेखि १५ महिनासम्मका ३८० जना र १६ महिनादेखि ५९ महिनासम्मका ५८४ जना बालबालिकाले नियमित रूपमा खोप प्राप्त गरिरहेको बताउनुभयो। उहाँले सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएकाले कुनै पनि बालबालिका खोपबाट बञ्चित नरहेको स्पष्ट पार्नुभयो।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप तथा रोग नियन्त्रण महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गरेपछि बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता पालिकाको घोषणा गरेको समेत शाखा प्रमुख खड्काले बताउनुभयो। उहाँका अनुसार पालिकाभित्रका ९६४ जना बालबालिकाले उमेर अनुसारको सम्पूर्ण खोप पाएको उल्लेख गर्नुभयो।
बालबालिकालाई झाडा, पोलियो, दादुरा, टिटानसजस्ता घातक रोगहरूबाट जोगाउन पूर्ण खोपको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त आवश्यक रहेको समेत उहाँले बताउनुभयो।
नगर प्रमुख अमरबहादुर खड्काले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र सरोकारवाला निकायहरूको संयुक्त प्रयासले यो उपलब्धि हासिल गर्न सकिएको बताउनुभयो। साथै, अभियानमा योगदान दिने सबैलाई धन्यवाद दिँदै, उहाँले खोप सेवाको नियमितता र दिगोपनाका लागि निरन्तर प्रयास आवश्यक रहेको सुझाव दिनुभयो।
नगर उपप्रमुख नन्दा कुमारी थापाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्र होइन, यसलाई दीगोपना बनाउँदै लैजानु थप चुनौती रहेको बताउनुभयो। उहाँले खोप सेवाको निरन्तरताका लागि स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायहरूको प्रतिबद्धता जरुरी भएको उल्लेख गर्नुभयो।
स्वास्थ्य मानव जीवनको अत्यन्त संवेदनशील क्षेत्र भएकाले स्वास्थ्यकर्मीहरूलाई सेवा प्रतिको कटिबद्धता सहित लाग्नुपर्ने सुझाव पनि उपप्रमुख थापाले दिनुभएको थियो।

