बाजुरामा गर्भवती र सुत्केरीसँग शुल्क असुली, सरकारी निर्देशनको उल्लंघन

बडिमालिका नगरपालिका बुढीनन्दा नगरपालिका मुख्य समाचार स्वास्थ्य

बाजुरा, जेठ ३२, २०८२ ।
सरकारले निर्धारण गरेको निःशुल्क प्रसूति तथा मातृस्वास्थ्य सेवा नीतिको विपरीत बाजुराका केही स्वास्थ्य संस्थाहरू गर्भवती तथा सुत्केरी महिलाबाट चेकजाँच बापत पैसा उठाउने गरेका छन्।

बाजुराको जिल्ला अस्पताल मार्तडी र कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले भिडियो एक्सरे जाँचको नाममा प्रत्येक पटक ४ सय रुपैयाँ असुल गर्ने गरेको खुलासा भएको छ। यद्यपि, सरकारले जारी गरेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ र ३ मा सम्पूर्ण सेवा निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने स्पष्ट उल्लेख छ।

निर्देशिकामा भनिएको छ– “सेवाग्राही महिलालाई आवश्यक सम्पूर्ण प्रयोगशाला जाँच, औषधि, उपकरण तथा सेवा निःशुल्क रूपमा प्रदान गरिनु पर्नेछ। कुनै पनि शुल्क लिन पाइँदैन।”

तर, यथार्थमा स्वास्थ्य संस्थाहरूले त्यही सेवाबापत पैसा लिइरहेका छन्।
जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स निशा रोकायाका अनुसार, नियमित चारपटक गरिने गर्भजाँच समेत निःशुल्क नहुँदा महिलाहरूले जति पटक चेकजाँच गर्छन्, त्यति पटक शुल्क तिर्न बाध्य छन्। “पहिले देखिनै पैसा लिइँदै आएको हो, तर कोही बोल्दैन,” उनले भनिन्।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पनि यस्तै अवस्था देखिएको छ।
बुढिनन्दा नगरपालिका–५ की डम्मरा बम मल्लले भिडियो एक्सरेका लागि ४ सय रुपैयाँ तिर्नुपरेको बताइन्। स्वास्थ्य संयोजक आमेजङ्ग शाहीले प्रत्येक महिना १२ र १३ गते मात्र निःशुल्क सेवा दिइने जानकारी गराउँदै, अन्य दिन शुल्क लिने निर्णय स्वास्थ्य व्यवस्थापन समितिको निर्देशनअनुसार भएको बताए।

उनका अनुसार भिडियो एक्सरे चिकित्सकले हेर्ने भएकाले शुल्क लिइएको हो। केही स्वास्थ्य संस्थाहरूले अन्य चेकजाँच निःशुल्क गरे पनि प्रयोगशाला, भिडियो एक्सरेजस्ता सेवाबापत शुल्क उठाउने गरेको पुष्टि भएको छ।

स्थानीय बासिन्दा रविन्द्र रोकायाका अनुसार, “कागजमा निःशुल्क सेवा लेखिएको भए पनि कार्यान्वयन भने नहुँदा महिलाहरूले समस्या भोगिरहेका छन्।”

गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था कमजोर हुँदा नियमित चेकजाँच अत्यावश्यक हुन्छ। तथापि, शुल्कका कारण धेरै महिलाहरू अझै पनि नियमित गर्भजाँचमा पुग्दैनन्।

बढ्दो मातृमृत्युदरलाई दृष्टिगत गर्दा यस्तो शुल्क असुली गम्भीर लापरबाहीको संकेत हो।
२०७६ सालमा ५ जना, २०७७ मा १ जना, २०७८ मा २ जना र २०७९ मा ४ जना सुत्केरी महिलाको मृत्यु भइसकेको छ। यीमध्ये धेरैको मृत्यु समयमै स्वास्थ्य सेवा नपाएर भएको जनाइएको छ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले भिडियो एक्सरेको नाममा पैसा लिएको स्वीकार गर्दै भविष्यमा यस्तो नगर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “मलाई पहिले थाहा थिएन, अबदेखि निःशुल्क बनाइनेछ।”

सरकारको निःशुल्क मातृस्वास्थ्य नीतिको सफल कार्यान्वयनका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, र निगरानी संयन्त्रहरू थप जिम्मेवार र सजग बन्नुपर्ने देखिन्छ। नारी स्वास्थ्य र जीवनसँग खेलवाड नगर्न सबै पक्षले गम्भीर ध्यान दिन जरुरी छ।

Leave a Reply