बाजुरा-बुढीगंगा नगरपालिकामा मंगलबारबाट सुरु भएको दुईदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २० र २१ गते सञ्चालन गरिएको शिविर गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा आयोजित भएको हो।
शिविर बुढीगंगाको टाँटेमा सञ्चालन गरिएको हो, जहाँ बुढीगंगा नगरपालिका सहित त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरू सेवा लिन आएको बाजुरा स्वास्थ्य चौकी टाँटेका प्रमुख छत्र थापाले बताउनुभयो। उहाँका अनुसार शिविरमा वृद्धवृद्धा, बालबालिका तथा दृष्टिसम्बन्धी समस्या भएका नागरिकहरू उपचारका लागि सहभागी भएका थिए।
शिविरमा ६ सय जनाले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। तीमध्ये मोतीविन्दुका कारण दृष्टिविहिन भएका एक सय ४२ जनाको शल्यक्रिया (अप्रेसन) गरिएको र चार सय ५८ जनाले सामान्य परीक्षण तथा परामर्श सेवा लिएको थापाले जानकारी दिनुभयो।
नगरपालिकाले प्रत्येक वर्ष गेटा आँखा अस्पतालसँगको सहकार्यमा यस्तो शिविर सञ्चालन गर्दै आएको छ। यसपटक पनि वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोली, गेटा आँखा अस्पतालबाट आएका स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक र नगरपालिकाको समन्वयमा शिविर सफलतापूर्वक सञ्चालन गरिएको थियो।
शिविरको समापन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथि रहनुभएको थियो। उहाँले गेटा आँखा अस्पतालको टोलीलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
नगर प्रमुख बानियाँले नगरवासीको स्वास्थ्य र जीवनस्तर उकास्ने गुणस्तरीय सेवा प्रदान गर्नु नगरपालिकाको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। साथै उहाँले स्वास्थ्य मात्र नभई कृषि, पशु सेवा लगायतका विभिन्न क्षेत्रलाई समेटेर वार्षिक कार्ययोजना अनुसार विविध शिविर सञ्चालन गर्दै आएको बताउनुभयो।
उक्त समापन कार्यक्रममा नगर उपप्रमुख माया (खड्का) कुँवर लगायत नगर कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।