स्वार्थमा लुप्त र आफन्तबादमा रुमलिएका नेताहरुको भुलिएको कर्तव्य

कला साहित्य बिचार राजनीति समाज

नेतृत्व भनेको मार्गदर्शन हो । राजनीति भनेको सेवा हो । जनताको मत भनेको विश्वासको धरोहर हो । तर दुर्भाग्य, आज त्यही राजनीति, त्यही नेतृत्व, त्यही विश्वास स्वार्थ र आफन्तबादको घेराभित्र हराउँदै गएको छ । चुनावको समयमा आँसु बगाउने नेताहरु, जनताको छानामा छिर्छन्, गाउँका गल्लीमा घुँडा टेक्छन्, तिनै नेताहरु सत्ताको कुर्सीमा पुगेर जनतालाई भुल्छन् – यो हाम्रो लोकतन्त्रको दर्दनाक विडम्बना हो ।

सत्तामा पुग्न जनताको भोट चाहिन्छ, तर सत्तामा पुगेपछि ती जनता नै बेपत्ता हुन्छन् नेताको नजरबाट । आफन्तलाई जागिरमा राख्ने, नातेदारलाई ठेक्का दिने, पार्टीका कार्यकर्तालाई मात्रै योजना बाँड्ने प्रवृत्तिले गर्दा आम जनताको सपना चकनाचुर भएको छ । कुर्सीमा पुगेको नेताले जनताको पीडा भुल्छ, बिर्सन्छ कि उसले हात जोडेर मत माग्दा के कसम खाएको थियो ।

बाजुराको विकट भूगोलमा हिँड्दै मत माग्न आएका नेताहरु आज सरकारी गाडीमै सिंहदरबार चढेर गएका छन्, तर यहाँको बासिन्दा अझै भोकभोकै बाँच्न बाध्य छ । स्वामिकार्तिक खापर गाउँपालिकाको कुन घरमा छत चुहिएको छ, कुन आमा सुत्केरी व्यथाले अकालमा गइन्, कुन विद्यार्थी कलम किन्न सक्दैन – यी सबै भुलिन्छन् नेताहरु । किनभने उनीहरुको नजरमा अब सर्बसाधारण ‘काम नलाग्ने’ भएका छन् – मतदाताको कर्तव्य त चुनाव सकिएपछि सकिन्छ भन्ने सोच बढ्दै गएको छ ।

नेता आफैँलाई जनताको सेवक भन्दैनन्, बरु मालिक ठान्न थालेका छन् । जनतासँग संवाद गर्न छाडेका छन्, योजना पारदर्शी बनाउनुको सट्टा गोप्य सम्झौता गर्छन् । एक जना नेताले आफ्नो भाईलाई स्वास्थ्य चौकीको इन्चार्ज बनाउँछ, अर्का नेताले आफ्नी पत्नीलाई शिक्षा शाखामा पठाउँछ – के यस्ता आफन्तबादी निर्णयले सिंगो गाउँको उन्नति सम्भव छ ?

आज गरिब जनता गाउँको विकासको सपना देख्छन्, तर नेताहरु आफ्ना भवन ठड्याउने सपना देख्छन् । जनता चाहन्छन्– आफ्ना छोराछोरीले राम्रो विद्यालय पाउन्, खानेपानी सहज होस्, तर नेताहरु चाहन्छन्– बजेट आफन्तको संस्थामा जाओस्, आफ्नो नाममा योजना लेखियोस् ।

यस्ता नेता भुल्छन् कि भोट दिनेलाई भुल्नु सबैभन्दा ठूलो पाप हो । हामीले कुटो कोदालो फालेर, बाटो हिँडेर, झरनाको पानी पिउँदै भोट हाल्न गएका थियौं – तिनै जनतालाई धोका दिनु भनेको धर्मको घात हो ।
नेतृत्वको उद्देश्य आफ्ना नातेदारका लागि ‘भविश्यको ढोका’ खोल्नु होइन, समग्र समाजका लागि उज्यालो बनाउनु हो ।

के हामी यस्ता नेताहरुलाई माफ गर्न सक्छौं ? जो दुःखमा सम्झँदैनन्, जो सत्तामा पुगेपछि हाम्रो फोन उठाउँदैनन्, जो हाम्रा कुरा सुन्नुभन्दा आफन्तलाई विदेश पढाउनतिर लाग्छन् ? समय आएको छ, अब प्रश्न गर्ने ।
किन तपाईंको छोरा विदेश जान्छ, हाम्रो बच्चा स्कुल जान सक्दैन ? किन तपाईंको घरमा पक्की ढोका लाग्छ, हाम्रो घरमा झ्याल पनि छैन ?
किन तपाईंका नातेदारलाई योजना पर्छ, हाम्रो नाममा फाराम पनि छैन ?

नेता भुलिरहेछन् – भोट सस्तो चीज होइन, यो त जनताको रगत पसिनाको मूल्य हो । आज कुर्सीमा छन्, तर भोलि जनताको अदालतमा उभिनुपर्छ । त्यो अदालत न त घुस लिन्छ, न नातावाद स्वीकार्छ ।
त्यो अदालतले न्याय गर्छ, अनि उनीहरुका अनुहार नाङ्गिन्छन् ।

आज लेख्दै छु, पीडाले कलम चलाउँदै छु । म सन्तोष प्रसाद जोशी, बाजुराको छेउछाउबाट, जनताको दुःख हेरिरहेको छु । राजनीति सेवा हो, शक्ति होइन भन्ने बुझेर हिँडेको थिएँ, तर आज त्यही राजनीति व्यापार बनिरहेको छ । भोट व्यापार, योजना व्यापार, विश्वास व्यापार ! के लोकतन्त्र यही हो ?

म भन्छु, अब समय फेरिनेछ । अब जनता चुप लाग्ने छैनन् । अब आफन्तबादीलाई बहिस्कार हुनेछ ।
जनताको पीडालाई बुझ्ने, साच्चै सेवा गर्ने, हरेक घरको बास्ना महसुस गर्ने नेताहरुको खाँचो छ – न कि आफन्तमात्रै हेर्नेहरू ।
जनताको आँखामा आँशु झार्ने नेताहरु होइन, जनताको आँखामा सपना सजाउने नेताहरु चाहिन्छ अब ।

हामीले अब नेता होइन, जनप्रतिनिधि खोज्नुपर्छ । सेवक खोज्नुपर्छ, मालिक होइन ।
भोट कसलाई दिने भन्ने निर्णय अब भावनाले होइन, विवेकले हुनुपर्छ ।
हिजो हामी धोका खायौँ, तर भोलि फेरि नदोहोरियोस् भन्ने आशामा यो शब्द लेखेको छु ।

जनताको रुवाइमा रमाउने नेताहरुलाई चेतना जाओस् !
अझै पनि समय छ – आफन्त होइन, सर्बसाधारणको सेवा गर ।
त्यही त तिमीलाई कुर्सीमा पु¥याउने हात हो, त्यो भुल्यौ भने…
जनताको हातले फेरि उठेर तिमीलाई ठोक्ने दिन टाढा छैन ।

– सन्तोष प्रसाद जोशी
स्वामिकार्तिक खापर गाउँपालिका, बाजुरा

Leave a Reply