मुगु, असार १४ सन्तोष प्रसाद जोशी
मुगु जिल्लाको सोरु गाउँपालिकामा अपांगता भएका व्यक्तिको हकहित, अभिवृद्धि र जीवनस्तर सुधारका लागि विशेष सल्लाकार बैठक सम्पन्न भएको छ। शनिबार दिउँसो INF द्दारा आयोजित बैठकमा सामाजिक विकास मन्त्री पृथ्वी बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिंहराज डाँगी प्रमुख अथिति रहनुभएको थियो।
बैठकमा २०८० सालको श्रावण महिनादेखि सोरु गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको सेवामा समर्पित रहेर काम गरिरहेको आईएनएफ (INF) संस्थाका सुपरभाइजर शिह दल बडुवालले कार्यक्रम सञ्चालन गर्दै अपांगता सम्बन्धी सशक्त प्रस्तुति दिनुभयो। उहाँले अपांगता भएका व्यक्तिको जीवनयात्रा, चुनौती, सम्भावना, र आत्मबलको महत्त्वबारे प्रशिक्षणमार्फत सहभागीहरूलाई सचेत गराउनुभयो।
कार्यक्रममा गाउँपालिकाका ११ वटै वडाबाट आएका अपांगता भएका व्यक्तिहरूले आफ्नो धारणा राख्ने अवसर पाए। उनीहरूले समाजमा भोगेका कठिनाइहरू, जनप्रतिनिधिसँगको अनुभव, र राज्यबाट चाहिने सहयोगबारे खुलेर विचार राखेका थिए। अधिकांश सहभागीले “अपांगता परिचयपत्र” वितरणलाई व्यवस्थित र सहज बनाउनेतर्फ जोड दिएका थिए।
प्रमुख प्रशासकीय अधिकृत डाँगीले आफ्नो २०३८ सालदेखि हालसम्मको प्रशासनिक अनुभव सुनाउँदै, अपांगता भएका व्यक्तिहरूप्रति समाजमा हुने व्यवहारजन्य विभेदप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले अपांगता भएका नागरिकलाई सभ्य भाषामा सम्बोधन गर्नुपर्ने संस्कार समाजमा विकास गर्नुपर्ने भन्दै “उनीहरू बोझ होइनन्, स्रोत हुन्” भन्ने सन्देश दिनुभयो। उहाँले अपांगताको प्रकृति अनुसार “सामान्य, मध्यम, अति अशक्त र पूर्ण अशक्त” गरी चार तहमा वर्गीकरण गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
सोरु गाउँपालिका वडा नं. ६ भवानी समूहका अध्यक्ष दीप बहादुर मल्लले INF लागू भएदेखि अपांगता भएका व्यक्तिहरुको जीवनमा आएको सकारात्मक परिवर्तनको चर्चा गर्दै, विगतमा प्रदान गरिएका लठ्ठी, सेफ्टी बेल्ट लगायतका सामग्रीले दैनिक जीवनमा ठुलो सहजता ल्याएको बताउनुभयो।
उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख पुस्पा मल्लले हाल सोरु गाउँपालिकामा ३४६ जना अपांगता भएका व्यक्तिहरु रहेको जानकारी दिँदै, तीमध्ये धेरैलाई आवश्यकता अनुसार सामग्री वितरण गरिएको र आगामी दिनमा शिक्षा, स्वास्थ्य, रोजगार र पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकमा शारीरिक, बौद्धिक, सुनाइसम्बन्धी, मानसिक र मनोसामाजिक अपांगताको विविध पक्षमा विस्तृत छलफल गरिएको थियो। विश्वमा १ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपको अपांगता भोगिरहेको तथ्याङ्क प्रस्तुत गर्दै सहभागीहरूले अपांगता विषयलाई घृणा होइन, समझदारी र सहकार्यको दृष्टिकोणबाट बुझ्नुपर्ने धारणा राखेका थिए।
सोरु गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि नीति निर्माण, समावेशी योजना निर्माण, आवश्यक सामग्री वितरण, शिक्षा तथा आत्मनिर्भरता अभिवृद्धि जस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने प्रमुख प्रसासकिय अधिकृत डाँगीको भनाई थियो। INF संस्था, सरोकारवाला निकायहरू र समुदायको सहकार्यमा अपांगता भएका व्यक्तिहरूको जीवनमा सार्थक परिवर्तन ल्याउन गाउँपालिका प्रतिबद्ध रहने र आफु पनि सहयोग गरिरहने अधिकृत डाँगीले बताउनुभयो।
यस्ता बैठक र कार्यक्रममार्फत सोरु गाउँपालिकाले अपांगता भएका नागरिकलाई सामाजिक सम्मान, राज्यको सेवा तथा अवसरमा पहुँच र आत्मबलका साथ जीवन यापन गर्ने वातावरण बनाउने दिशामा सार्थक पहल गरिनुपर्ने बिश्वास ब्यक्त गर्नुभयो ।