‎सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी टावर स्थापनाका लागि अध्यक्ष शाहीले सम्झौता

कर्णाली प्रदेश बिशेष मुख्य समाचार शिक्षा सुदूरपश्चिम प्रदेश

‎मुगु जिल्लाको सोरु गाउँपालिकामा नेपाल टेलिकमको फोर–जी (4G) मोबाइल टावर स्थापना हुने भएको छ। लामो समयदेखि उच्चगति इन्टरनेट र गुणस्तरीय मोबाइल सेवा पर्खिरहेका स्थानीय बासिन्दाका लागि यो खुसीको समाचार बनेको छ।

‎गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको सक्रिय पहल र निरन्तर समन्वयपछि नेपाल टेलिकमको केन्द्रीय कार्यालयले सोरुमा फोर–जी टावर निर्माणका लागि आवश्यक प्राविधिक स्वीकृति प्रदान गरेको हो। टेलिकम वायारलेस सेवा निर्देशनालयले जारी गरेको स्वीकृति पत्रअनुसार सोरुको जिमासोरुकोटमा स्थापना हुने उक्त टावरको साइट आईडी MWDR332 रहनेछ।

‎१६ मिटर अग्लो RTT प्रकारको यो टावर स्थापना भएपछि आसपासका बस्तीहरूमा गुणस्तरीय मोबाइल सञ्चार र उच्चगति इन्टरनेट सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

‎यसैबीच, सम्झौताका लागि गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुर्खेत पुग्नुभएको छ। सम्झौता बुझ्दै टेलिकमका निर्देशक डा. कमल लामीछानेले सोरुका नागरिकहरूलाई छिट्टै डिजिटल प्रविधिसँग जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक उपकरण र प्राविधिक टोली कार्तिक महिनाको अन्त्यसम्म सोरु पुग्नेछ।

‎अध्यक्ष शाहीले भन्नुभयो,“हाम्रो उद्देश्य सबै गाउँसम्म आधुनिक सञ्चार सेवा पुगोस् भन्ने हो। अब टावर बनेपछि गाउँलेहरू शिक्षादेखि व्यापारसम्म सबै क्षेत्रमा डिजिटल पहुँचका फाइदा लिन सक्नेछन्।”
‎हाल सोरु गाउँपालिकामा मोबाइल सिग्नल कमजोर र इन्टरनेट पहुँच सीमित भएकाले सञ्चारमा ठूलो कठिनाइ भइरहेको थियो। फोर–जी टावर निर्माण भएपछि फोन कल र इन्टरनेट दुवै सहज हुने अपेक्षा गरिएको छ।

‎नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनका लागि आवश्यक उपकरण पठाउने तयारी गरिरहेको र टावर निर्माण कार्य केही हप्ताभित्रै सुरु हुने जनाइएको छ।‎यससँगै, मुगुको दुर्गम क्षेत्र सोरु गाउँपालिकामा सञ्चार सेवाको नयाँ युग सुरु हुने विश्वास गरिएको छ।

Leave a Reply