बाजुरा-बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागी पीडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने भएको छ।
आगलागीबाट बाम्का बजारका व्यापारीहरूले ठूलो क्षति बेहोर्नु परेकाले राहतस्वरूप सो रकम सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।
आइतबार गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत पारसबहादुर शाहीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा आगलागीबाट भएको क्षतिको दुःख व्यक्त गर्दै पीडितलाई राहतस्वरूप सो रकम सहयोग गरिने प्रतिवद्धता जनाइएको उल्लेख गरिएको छ।
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीमार्फत राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। समितिले सिद्धार्थ बैंकमा विशेष खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरेर पीडितहरूलाई राहत वितरण कार्य अघि बढाउने योजना बनाएको राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले जानकारी दिनुभएको छ ।
राहत कोषमा विभिन्न पालिकाहरू र संघसंस्थाहरूले समेत सहयोग गर्न थालेको बताइएको छ। आगलागीबाट ठूलो नोक्सानी भएकाले सबैलाई सहयोग गर्न अपिल गर्दै बाम्का बजारलाई पुरानै अवस्थामा ल्याउन निर्माण कार्यसमेत अघि बढाइएको समितिका संयोजक तथा नगरप्रमुख रामबहादुर बानियाँले बताउनुभयो ।
उहाँका अनुसार, एक महिनाभित्र टहराहरू निर्माण गरी बजार पुनः सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम अघि बढाइएको छ।
गएको शुक्रबार बाम्कामा रहेको नवदुर्गा होटलबाट ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा ३१ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रारम्भिक प्रहरी अनुमान छ। साथै ७ वटा पसल आंशिक क्षतिग्रस्त भएका छन्। आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ, यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ।
यसैबीच, शनिबार बुढीनन्दा नगरपालिकाले एक लाख रुपैयाँ नगद सहयोग गरेको हो भने आइतबार बुढीगंगा नगरपालिकाको ४४ औं कार्यपालिका बैठकले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
पीडितका लागि दैनिक रूपमा सहयोग रकम संकलन भइरहेका छन्, र स्थानीय स्तरमा व्यापक सहानुभूति र सहकार्य देखिएको छ।