बाजुरा — मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फालासैनले बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट पीडित भएका परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाले घटनास्थलमै पुगेर बुधबार १७ जना अग्निपीडितलाई प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले कुल ८५ हजार रुपैयाँ राहतस्वरूप वितरण गरेको हो। शाखा प्रमुख पुष्पा कुमारी शाहका अनुसार, संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितलाई राहत उपलब्ध गराइएको संस्थाका कर्मचारी पंकज रावलले ह्याप्पी खबरलाई जानकारी दिनुभयो।
स्थानीयबासी तथा पीडित व्यापारीहरू अहिले पनि राहत र पुनःस्थापना प्रयासमा जुटिरहेका छन्। यसबीचमा मातृभूमि लघुवित्तले गरेको सहयोगले पीडितहरूलाई तत्काल राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रम बुढीगंगा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जोशी, अनुगमन प्रमुख नरबहादुर साउँद, स्थानीय व्यवसायी छत्र बहादुर थापा तथा अन्य समुदाय प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
गत जेठ २३ गते शुक्रबार बाम्का बजारस्थित नवदुर्गा होटलमा ग्यास सिलिण्डर पड्किएर भयावह आगलागी भएको थियो। उक्त आगलागीबाट करिब एक दर्जनभन्दा बढी पसल पूर्णरूपमा जलेर नष्ट भएका छन् भने केही पसलमा आंशिक क्षति पुगेको छ। प्रारम्भिक मूल्याङ्कन अनुसार करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरिएको छ।