बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनौं पसल जलेर नष्ट

बुढीगंगा नगरपालिका मुख्य समाचार

२०८२ जेठ २३

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। स्थानीय प्रहरी, दमकल र बासिन्दाहरूको निरन्तर प्रयासका बाबजुद बजार क्षेत्रमा फैलिएको आगो नियन्त्रण बाहिर रहेको छ।

आगलागी सुरु भएको केहीबेरमै बजारका दर्जनभन्दा बढी साना–ठूला पसलहरू जलेर नष्ट भएका छन्। स्थानीय प्रशासनका अनुसार लाखौंको क्षति भएको अनुमान गरिएको छ, यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी छ।प्रहरीका अनुसार बजार क्षेत्रमा फैलिएको आगो निभाउने क्रममा डोजर प्रयोग गरेर माटोसमेत खन्याइएको थियो।

स्थानीय बासिन्दा, दमकल र सुरक्षा निकायले सामूहिक प्रयास गर्दा पनि डढेलोझैँ फैलिएको आगो नियन्त्रण बाहिर गएको जनाइएको छ।”डोजरको प्रयोग गर्‍यौं, माटो फाल्यौं, तर आगो अझै नियन्त्रणमा आएको छैन घटनास्थलमा खटिएका एक प्रहरीले भने” हावा चलिरहेको र टिनका छानामा सजिलै आगो सल्किने भएकाले थप चुनौती भएको छ।

“धुवाँको बाक्लो मुस्लोले पुरै बजार ढपक्क ढाकेको छ। आगलागीको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैको मन पनि साथसाथै पोलिरहेको छ।
स्थानीयहरूका अनुसार अचानक सुरु भएको आगलागीले निकै कम समयमा पुरै बजार क्षेत्र कब्जा लिएको थियो। अधिकांश पसलहरू काठ र टिनका संरचनामा रहेकाले आगो फैलिन सजिलो भएको अनुमान गरिएको छ।पसलमा रहेका सामान, व्यापारको सम्पूर्ण लगानी, र महिनौंको मिहिनेत एकैछिनमा खरानीमा परिणत भएपछि प्रभावितहरू आक्रोशित र आहत बनेका छन्।

आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार एक होटेलमा खाना पकाउने ग्यासका कारण आगो लागेको हुन सक्ने देखिएको छ।बाम्काको दुर्गमता, पर्याप्त दमकलको अभाव र स्थानीय स्रोत–साधन सीमित भएकाले आगो निभाउने काम अझै पनि कठिन भइरहेको छ।

प्रशासनले आसपासका बासिन्दालाई सतर्क रहन, सुरक्षित स्थानमा जान र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ।यस डरलाग्दो घटनाले बाम्का बजार मात्र होइन, सम्पूर्ण जिल्लाको मन पोलाएको छ।

Leave a Reply