मुगु — सोरु गाउँपालिकामा संविधानको रक्षा र राष्ट्रिय एकताको सन्देश फैलाउन दीप प्रज्वलन कार्यक्रम गरिएको छ। गाउँपालिकाले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सो कार्यक्रम सम्पन्न गरेको हो।
सोरुकोट बजार क्षेत्रमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको सहभागितामा दीप प्रज्वलन गरिएको थियो। उपस्थितहरुले “संविधान हाम्रो गौरव, राष्ट्रिय एकताको आधार” भन्ने नारासहित दिप बाल्दै संविधानको संरक्षण र कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले संविधानको मर्म र भावनाअनुसार सबै नागरिकले आ-आफ्नो भूमिकालाई इमान्दार र जिम्मेवार ढङ्गले निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले दीप प्रज्वलनले आशा, शान्ति र एकताको प्रतीक बोकेको भन्दै यसले गाउँपालिका मात्र नभई सम्पूर्ण मुलुकमा संविधान प्रती जिम्मेवारी र जागरण फैलाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संविधानलाई सफल कार्यान्वयन गरेर लोकतन्त्र, समानता र समृद्ध नेपाल निर्माणमा अघि बढ्नुपर्ने सहभागीले जोड दिएका थिए।
