मुगुको छायानाथ रारा नगरपालिका–११ मा विद्युत चुहावटले १० खच्चर मरे

कर्णाली प्रदेश मुख्य समाचार स्वास्थ्य

२०८२असार ९

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा विद्युत चुहावटका कारण १० वटा खच्चर मरेका छन्। नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्र अन्तर्गतको ट्रान्समिटरबाट जमिनमा विद्युत् चुहिएर करेन्ट लाग्दा खच्चर मरेका हुन्।

दश खच्चर मुगुम कार्मारोङ गाउँपालिकातर्फ सामान बोक्दै थिए। सदरमुकाम गमगढीबाट सामान लिएर जाँदै गरेका बेला आइतबार दिउँसो अचानक करेन्ट लागेर खच्चर मरेको खच्चर धनी कन्नबहादुर मल्लले जानकारी दिनुभयो ।

“पानी परिरहेको थियो, ट्रान्समिटर नजिकको सडक हुँदै जाँदा जमिनमै विद्युत बगेको रहेछ। एक्कासी १० वटै खच्चर करेन्ट लागेर ढले। म आफैं पनि करेन्टमा परें तर चप्पल लगाएका कारण सामान्य झड्का मात्र लाग्यो,” उहाँले भाबुक हुँदै भन्नुभयो ।

मल्लका अनुसार एक खच्चरको मूल्य १ लाख ५० हजारभन्दा बढी पर्ने हुँदा ठूलो आर्थिक क्षति भएको छ। उहाँले क्षतिपूर्ति माग गर्दै नेपाल विद्युत् प्राधिकरणलाई दोषी ठहर गर्नुभएको छ। उहाँका ४, छायानाथ रारा–१० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका ३–३ वटा खच्चर मरेका उहाँले जानकारी दिनुभयो।

यसअघि पनि विद्युत् चुहावटकै कारण छायानाथ रारा–१२ कम्फागाउँका खड्कबहादुर बुढाको भैँसी मरेको स्थानीयले बताएका छन्।

स्थानीय जग्गी बढुवालले विद्युत सेवा सुरक्षित नभएकै कारण स्थानीयले पटक–पटक जनावर गुमाउनु परेको गुनासो गर्नुभयो। “प्राधिकरणले कम क्षमताको ट्रान्समिटर जडान गरेको छ, अर्थिङ पनि सुरक्षित छैन,” उहाँले भन्नुभयो।

नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीका कारण लाइनमा समस्या आएको स्वीकार गर्दै, क्षतिपूर्तिका लागि प्रादेशिक तथा केन्द्रीय कार्यालयमा सिफारिस गर्ने बताउनुभयो।

Leave a Reply