अदानचुली —
हुम्ला- जिल्ला अदानचुली गाउँपालिका–५ मा हालसम्म सम्पन्न विकास निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएको छ। पालिका अध्यक्ष मोहन विक्रम सिंहको नेतृत्वमा गएको टोलीले विभिन्न पूर्वाधार निर्माण तथा अन्य सेवा प्रवाहका कार्यक्रमको स्थायी र प्रभावकारीता मूल्याङ्कन गरेको हो।

पालिका टोलीमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकसहितको समूहले वडा नं ५ अन्तर्गत हालै सम्पन्न तथा निर्माणाधीन योजनाहरूको अनुगमन गरेको हो। सो अवसरमा अध्यक्ष सिंहले निर्माणका कामहरू नियमानुसार समयमै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अनुगमनका क्रममा प्राविधिक पक्ष कमजोर देखिएको खण्डमा आवश्यक सुधारका लागि निर्देशन समेत दिनुभएको छ।

वडा नं ५ का वडाध्यक्ष कमल बहादुर छत्यालले विकास योजना सदुपयोग हुँदै गएकाले जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो। उहाँका अनुसार, सडक, खानेपानी, विद्यालय भवन, सोलार जडान लगायतका योजनाहरूको स्थायित्व, गुणस्तर र उपयोगिताको मूल्याङ्कन गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको थियो।
स्थानीय बासिन्दाले भने पालिकाको सक्रियता र नियमित अनुगमनले ठेकेदार तथा निर्माण समितिहरूलाई जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्। अनुगमन टोलीले स्थानीय बासिन्दासँग समेत छलफल गरी योजनाका बारेमा प्रत्यक्ष धारणा संकलन गरेको थियो। कतिपय स्थानमा निर्माण कार्य सम्पन्न भए पनि मर्मतको आवश्यकता देखिएको तथा केही योजनामा ढिलाइ भएको पाइएपछि सुधारको सिफारिस गरिएको बताइएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षको योजनाहरू समयमै सम्पन्न गर्न सबै वडामा अनुगमन र अनुगमनपछिको पुनरावलोकनलाई प्राथमिकता दिइरहेको छ। अध्यक्ष सिंहले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य गरेर मात्र दीगो विकास सम्भव हुने बताउँदै अनुगमनलाई नियमित प्रक्रिया बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। अनुगमनले विकास योजनाको पारदर्शिता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस्तो पहलले जनताको चासो बुझ्न र सुधार गर्न मद्दत पुग्ने भन्दै प्रसंसा गरेका छन्।

अनुगमनले विकास योजनाको पारदर्शिता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस्तो पहलले जनताको चासो बुझ्न र सुधार गर्न मद्दत पुग्ने भन्दै प्रसंसा गरेका छन्।