ह्याप्पी खबर
शम्भुनाथ बहुमुखी क्याम्पसको प्रमुख पदमा नहकुल जोशीलाई जिम्मेवारी दिइएको छ। हालै मान्यता प्राप्त उक्त क्याम्पसको पहिलो प्रमुखको रूपमा जोशीले औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो।
विगत लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आवद्ध रहेका जोशी हाल स्थायी शिक्षकको रूपमा सेवा दिँदै आउनुभएको थियो । स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं ४ का स्थानीय बासिन्दा समेत रहनुभएका उहाँलाई गाउँकै शैक्षिक क्षेत्रमा नेतृत्व गर्ने शौभाग्य प्राप्त भएको हो।
लामो प्रयास र पहलपछि गाउँपालिकाको केन्द्र वाईमा शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना भई सुदूरपश्चिम विश्वविद्यालयसँग अस्थायी सम्बन्धन प्राप्त गरेको छ। यस सँगै दुर्गम स्वामीकार्तिक खापर गाउँपालिका लगायत आसपासका विद्यार्थीहरूले अब गाउँमै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्।
क्याम्पस स्थापनामा स्वामीकार्तिक गाउँपालिका, स्थानीय समुदाय, अभिभावक तथा शिक्षित युवाहरूको उल्लेखनीय सहयोग रहेको सञ्चालक समितिका अध्यक्ष कर्णबिर बुढाले बताउनुभयो। उहाँका अनुसार स्वामीकार्तिक माध्यमिक विद्यालयसँग पाँच वर्षका लागि सम्झौता गरेर सोही विद्यालयको भवन र जनशक्ति प्रयोग गरी क्याम्पस सञ्चालन गरिएको हो।
हाल स्वामीकार्तिक माध्यमिक विद्यालयमा उच्च र माध्यमिक तहका गरी नौ जनाको दरबन्दी रहेको छ। सोही जनशक्ति उपयोग गरी अध्ययन–अध्यापन सुरु गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले क्याम्पस सञ्चालनमा आएसँगै गाउँका विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि अब शहर धाउन नपर्ने बताउनुभयो। “गाउँमै उच्च शिक्षाको सुविधा उपलब्ध हुनु स्वामीकार्तिकका लागि ऐतिहासिक उपलब्धि हुने अध्यक्ष रोकायाको भनाई छ।जोशी लेखकका रुपमा पनि परिचित हुनुहुन्छ ।उहाँको कृति नाजवाफ बजारमा सर्बत्र उपलब्ध छ।

