हुम्ला, श्रीनगर – शिक्षा क्षेत्रमा ऐतिहासिक सोछ अघि बढाउँदै अदानचुली गाउँपालिकाले ‘उज्यालो अदानचुली’ नामक स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारजस्ता महत्वपूर्ण क्षेत्रलाई समेटिएको यस पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूका लागि तयार गरिएको हो।मंगलबार दिउँसो एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाको सभाहलमा स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।
यस स्थानीय पाठ्यक्रमको मूल उद्देश्य अदानचुलीको संस्कृति, भूगोल, स्थानीय ज्ञान र सामुदायिक मूल्यहरूलाई पाठ्यपुस्तकमार्फत बालबालिकामा हस्तान्तरण गर्नु हो। गाउँपालिकाको नेतृत्वमा स्थानीय स्रोत र जनश्रम प्रयोग गरी तयार गरिएको यस पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नो माटो, संस्कृति र सम्भावनाको बारेमा सिकाउनेछ जनाईएको छ।
पुस्तकमा समेटिएका विषयहरूमा अदानचुलीका प्राकृतिक सौन्दर्य, कृषि प्रणाली, ऐतिहासिक स्थलहरू, परम्परागत सीपहरू र जीवनशैलीजस्ता विषयहरू समेटिएका छन्। साथै, स्थानीय चित्र र दृश्यले सजिएको पुस्तकले सिकाइलाई अझै प्रभावकारी बनाउने विश्वास गरिएको छ।
अदानचुली गाउँपालिका अध्यक्ष महोन विक्रम सिंह का अनुसार, “यो पाठ्यक्रमले बालबालिकालाई अदानचुली चिनाउने मात्र होइन, उनीहरूलाई गाउँप्रतिको माया र योगदानको भावना पनि विकास गराउनेछ।”
यसले अभिभावक, शिक्षक र स्थानीयवासीहरूबाट व्यापक सराहना प्राप्त भएको छ। आगामी दिनमा पाठ्यक्रमलाई अझ परिष्कृत गर्दै कक्षा ९ देखि माथिको स्तरमा समेत विस्तार गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ।