बडीमालिकामा सम्पन्न भयो आईटी स्रोत शिक्षकहरूको क्षमता विकास तालिम

बडिमालिका नगरपालिका मुख्य समाचार शिक्षा

बाजुरा — बडीमालिका नगरपालिकाको आयोजनामा सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी आधारभूत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि चारदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

“आधारभूत तथा माध्यमिक IT स्रोत शिक्षकहरूका लागि ICT सम्बन्धी क्षमता विकास तालिम” भन्ने नाराका साथ जेठ १८ गतेदेखि सुरु भएको तालिम जेठ २१ गतेसम्म संचालन भएको हो। तालिमको उद्देश्य शिक्षकहरूलाई डिजिटल प्रविधिमा दक्ष बनाउँदै शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनु रहेको नगर प्रमुख अमर खड्काले बताए।

बडीमालिका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न तालिममा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूबाट आएका स्रोत व्यक्ति तथा आईटी शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममा ICT उपकरणहरूको प्रयोग, शैक्षिक सफ्टवेयर सञ्चालन, डिजिटल कक्षा व्यवस्थापन, र अनलाइन सिकाइका विधिहरू निर्माण जस्ता विषयहरू समेटिएका थिए।

शिक्षा शाखा प्रमुख रंगमल बिकका अनुसार, यस्ता तालिमहरूले शिक्षण पद्धतिमा गुणस्तरात्मक सुधार ल्याउने विश्वास गरिएको छ। डिजिटल युगको मागअनुसार शिक्षकहरूलाई प्रविधिसँग आत्मीय बनाउन तालिम प्रभावकारी हुने नगर प्रमुख खड्काले बताए। साथै, आगामी दिनहरूमा अझ विस्तारित रूपमा यस्ता तालिमहरू सञ्चालन गरिने योजना रहेको उनले जानकारी दिए।

तालिमको समापन कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक डम्मर महत्तको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नगर प्रमुख अमर खड्का प्रमुख अतिथि रहे भने उपप्रमुख नन्दा कुमारी थापा, पत्रकार महासंघका अध्यक्ष पदम बहादुर सिंहसहित सरोकारवाला विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय शिक्षक तथा सहभागीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै यसले उनीहरूको पेशागत क्षमतामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply