हुम्लाको सर्केगाडमा आगलागी, २० घरमा क्षति सिमकोट र रेडक्रसबाट राहत

अर्थ कर्णाली प्रदेश बिचार मुख्य समाचार

हुम्ला, असार ३ ह्याप्पी खबर सम्बादाता
हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल गाउँमा आइतबार राति आगलागी हुँदा २० घरमा क्षति पुगेको छ। राति करिब ११:३० बजे सुरु भएको आगो सोमबार बिहान ६:३० बजे नियन्त्रणमा आएको हो।
वडाध्यक्ष अकिल कार्कीका अनुसार आगलागीबाट ८ घर पूर्ण रूपमा नष्ट भएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ। पूर्णरूपमा जलेर नष्ट भएका घरहरूमा धनबहादुर रावत, जनक रावत, बृख रावत, पाले फडेरा, लालकौरा फडेरा, विजन फडेरा, आशा फडेरा र प्रकाश फडेराको घर समावेश छन्।
त्यस्तै, रामकृष्ण रावत, राजबहादुर रावत, जय रावत, अमृता कार्की, बिरजन फडेरा, चनबहादुर फडेरा, लखन फडेरा, चैना फडेरा, देवी थापा र सतरुपा रावतका घरहरूमा आंशिक क्षति पुगेको छ।
वडाध्यक्ष कार्कीले आगलागीबाट धनबहादुर रावतको घरमा रहेको दुई लाख २० हजार रुपैयाँ नगद, साथै लत्ताकपडा, अन्नपात, भाडाकुडा, कागजात, नागरिकता प्रमाणपत्र, लालपुर्जा लगायतका सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएको जानकारी दिनुभयो।
घटनापछि सिमकोट गाउँपालिकाले करिब ५० हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार, पीडितहरूलाई आठ क्विन्टल चामल (३२ बोरा) राहतस्वरूप पठाइएको छ, जुन सोमबार साँझसम्म घटनास्थलमा पुग्ने छ।
“एक स्थानीय तहका हैसियतले अर्को पीडित स्थानीय तहलाई संकटको बेला साथ दिने उद्देश्यले राहत पठाएका हौं,” अध्यक्ष भण्डारीले भन्नुभयो, “हाल पीडितहरू खाने गाँस र बस्ने बासको समस्यामा छन्।”
यस्तै, नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाले पनि पाल, कम्बल लगायतका आवश्यक राहत सामग्री लिएर सिमकोटबाट घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ।
घटनास्थलतर्फ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय र प्रहरी नायब उपरीक्षक शंकर पोखरेल समेत पुगिसक्नुभएको छ। हाल जिल्ला प्रहरी कार्यालय हुम्लाले मुचुल्का संकलन कार्य जारी राखेको जनाएको छ। पूर्ण क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

Leave a Reply