कोल्टी अस्पतालले फेरेको मुहार

मुख्य समाचार

कोल्टी अस्पताल

सन्तोष प्रसाद जोशी,माघ २९

बाजुरा-बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय उल्लेखनीय सुधार गर्दै आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएको छ। आधुनिक उपकरणको थप, दक्ष चिकित्सकहरूको उपलब्धता, तथा पूर्वाधारको विस्तारसँगै कोल्टी अस्पतालको स्वरूप बदलिँदै गएको छ।

यस सँगै जिल्लाका दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको अस्पतालका प्रमुख डाक्टर  एमडी जी पि रन्जित कुमार शाहले बताउनुभयो ।कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको यो अस्पताललाई नगर अस्पतालका रूपमा स्तरोन्नति गरी अब २५ शैय्याको अस्पताल बनाइँदै छ। अस्पताल प्रमुखका अनुसार “अस्पतालमा सेवा विस्तार हुँदै गर्दा बिरामीहरूको चाप बढेको बताउनुहुन्छ। उहाँले विभिन्न नयाँ सेवाहरू थप्दा स्थानीय बासिन्दाहरूलाई ठूलो राहत मिलेको बताउनुभयो ।

पहिले प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आवश्यक सेवा तथा विशेषज्ञ चिकित्सकको अभावका कारण धेरै बिरामीहरू अन्यत्र जान बाध्य हुन्थे। कतिपयले अकालमै ज्यान गुमाउनु परेको इतिहास र आमाले बाटोमै बच्चा जन्माउने अवस्था थियो उहाँले दुख व्यक्त गर्नुभयो ।अस्पतालले आवश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गर्न थालेपछि मृत्युदर घटेको बताउनुभयो ।स्वास्थ्य संयोजक ओमजङ्ग शाहिका अनुसार अस्पतालले हालसालै निम्न सेवा दिईरहेको जानकारी दिनुभयो ।

जसमा,सि आर एक्सरे संचालन,आकस्मिक प्रसुती सेवा संचालन गरि २४ जना भन्दा बढी गर्भवतिहरुको सल्यक्रियाद्वारा बच्चा निकालेको,आँखा रोग सेवा संचालन,अस्पतालको आन्तरिक  श्रोतलाई व्यवस्थापन गर्न विलिङ सफ्टवेरको व्यवस्थापन,स्वास्थ्य वीमा कार्यक्रम संचालनको लागि फार्मेशी संचालन,प्रयोगशालालाई डिजिटलाईज गरिएको,एनालाईजरहरु थप गरेको,लक्षित बर्ग छुट्याई बिरामी जाँचमा २० प्रतिसत र औषधीमा १० प्रतिसत छुट गरिएको,एम्बुलेन्स सेवा व्यवस्थापन,बिरामी भर्नाको लागि अन्तरङ्ग विभाग व्ववस्थापन,भिडियो एक्सरे सेवा,दन्तरोग रोग सेवा संचालन,३० केभीको जेनेरेटर सहित ३ फेज वाईरिङ,खानेपानी १० हजार लिटर भण्डारण हुने हुँदा पानीको अभाब नहुने उहाँले बताउनुभयो ।

स्थानिय सरकारको एकल अधिकार क्षेत्र भित्र रहेको  आधारभुत स्वास्थ्य तथा सरसफाईलाई सफल कार्यान्वयन गर्न र चिकित्सकिय सेवा प्रवाह गर्न अस्पतालको न्युनतम सेवा मापदण्डका आधारमा भौतिक संरचनाको मर्मत सम्भार गरिरहेको बताउनुभयो ।आवश्यक औषधि तथा चिकित्सकीय उपकरणहरूको आपूर्ति सहजताले अन्य अस्पतालमा नजान पर्ने बताउनुभयो। अस्पतालका फार्मासिस्ट तथा सूचना अधिकारी प्रेम नेपालीका अनुसार  “स्वास्थ्य मन्त्रालय तथा औषधि विभागबाट प्राप्त हुने ९८ प्रकार औसधि मध्ये ३५/३८ को हाराहारीमाऔषधिहरू अस्पतालमै उपलब्ध गराइएको बताउनुभएको छ।न्युन बर्गका औसधि किन्न नसक्ने बिरामीहरुका लागि छुट दिएर सेवा प्रदान गरिरहेको बताउनुभयो ।

बिरामीहरूलाई कुनै पनि औषधिको अभाव हुन नदिन प्रयास भइरहेको उहाँले बताउनुभयो ।कोल्टी अस्पतालले हुम्ला, मुगु, र कालिकोट  छिमेकी जिल्लाका बिरामीहरूलाई समेत सेवा दिइरहेको बताउनुभएको छ। पहिले सामान्य उपचारका लागि समेत धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो, तर अहिले अस्पतालमै गुणस्तरीय उपचार सम्भव भएको छ उहाँले बताउनुभयो ।स्थानिय बिरामी सुकबिर कडाराका अनुसार “पहिले सानो समस्या भए पनि हामीले कोल्टी अस्पतालमा उपचार गर्न सक्दैनौँ भन्ने ठान्थ्यौं। तर, अहिले सेवा सुधार भएपछि यहाँकै अस्पतालमा उपचार गराउँछौं। यसले समय र खर्च दुवै बचत भएको बताउनुभएको छ ।

गुणस्तरीय सेवाले र अस्पतालको ब्यबस्थापन,सरसफाइ र सुन्दरताले रोग चाँडै निको भएर जाने उहाँको भनाई छ ।अस्पतालमा बिरामीहरूको चापलाई मध्यनजर गर्दै स्वास्थ्य संयोजक ओमजङ्ग शाही भन्नुहुन्छ”हाम्रो योजना कोल्टी अस्पताललाई अझ स्तरीय बनाउने र थप चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीको आवश्यकता रहेकाले त्यसलाई व्यवस्थित गर्न पहल भइरहेको उहाँको भनाई छ ।अस्पताललाई अझ व्यवस्थित बनाउन नयाँ डेकुरेसन निर्माण, ओपीडी सेवा विस्तार, तथा थप विशेषज्ञ सेवाहरू ल्याउने लक्ष्यका साथै  बिरामीहरूको सुविधाका लागि अस्पतालको आपतकालीन सेवा २४ घण्टा सञ्चालन गर्ने व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।

बुढिनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहरा भन्नुहुन्छ  “हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ। कोल्टी अस्पताललाई जिल्लाकै नमुना स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुहुन्छ। यसका लागि स्थानीय सरकार, संघीय सरकार, र विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा काम गरिरहेको बताउनुहुन्छ ।नगरपालिकाले आवश्यक स्वास्थ्य सेवा थप्नका लागि छुट्टै बजेट बिनियोजन, अस्पतालको आन्तरिक श्रोत तथा स्वान नेपाल, र आड्रा नेपालको साझेदारी संगै सहयोग गरिरहेको बताउनुभएको छ ।

साथै, स्थानीय स्तरमा समुदायलाई सचेत गराउने, सुरक्षित मातृत्व सेवा प्रवर्द्धन गर्ने, तथा बाल स्वास्थ्य सेवा सुधार गर्ने अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।अस्पतालले सेवा प्रभावकारी बनाएपछि स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गरिरहेका छन्। बिरामीहरूको सुविधाका लागि दर्ता प्रक्रिया सहज बनाइँदैछ, विशेषज्ञ सेवा थप्ने काम भइरहेको छ, र औषधिको अभाव हुन नदिन नियमित औसधि  व्यवस्था गर्दै फार्मेसी सन्चालन गरिरहेको बताउनुभयो ।दुर्गम क्षेत्रका नागरिकहरूले लामो समयसम्म गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भए पनि कोल्टी अस्पतालको सुधारले उनीहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो ।

कोल्टी अस्पतालको स्तरोन्नति, सेवा विस्तार, तथा जनशक्ति व्यवस्थापनले बाजुरा र आसपासका जिल्लाका हजारौं नागरिकलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याएको स्वास्थ संयोजक ओमजङ शाही बताउनुहुन्छ । उहाँका अनुसार आधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी, तथा सहज स्वास्थ्य सेवा प्रवाहका कारण यो अस्पतालले बिरामीको मुहारमा पक्कै पनि खुशी छाउने बिस्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply