सन्तोष प्रसाद जोशी
मुगु — आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मुगुको सोरु गाउँपालिकाले ५७ करोड ९४ लाख ४७ हजार ५८२ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। सेवा प्रवाह, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र विद्युतलाई विशेष प्राथमिकतामा राख्दै बजेटको रूपरेखा तयार गरिएको हो।
गाउँसभामा प्रस्तुत गरिएको मुख्य नीति तथा कार्यक्रममार्फत सभाध्यक्ष धर्म बहादुर शाहीले बजेटको घोषणा गर्नुभएको हो। उहाँले गाउँपालिका भित्रका स्वयंसेवक शिक्षकलाई मासिक ३० हजार रुपैयाँ स्केलको तलब दिने व्यवस्था गरिने जानकारी दिनुभयो। त्यसैगरी, बाल विकास सहजकर्ता र लेखापालको तलबमा पाँच–पाँच हजार रुपैयाँका दरले वृद्धि गरिने पनि उल्लेख गर्नुभयो।
गाउँपालिकाले सामाजिक सुरक्षाका क्षेत्रमा विशेष प्राथमिकता दिँदै ४० देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ। सो भत्ता गाउँपालिका अध्यक्षसँगको सहकार्यमा छात्रवृत्तिजस्तै सीधै लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत तर पारिश्रमिक नपाइरहेका स्वास्थ्यकर्मीहरूका लागि पनि तलबको व्यवस्था गरिएको छ। त्यस्तै, स्वयंसेविकाहरूलाई संचारका लागि मोबाइल सेट प्रदान गरिने र मासिक एक सय रुपैयाँका दरले संचार खर्च दिइने जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले दिनुभयो।
गाउँपालिकाले कृषिको विकासका लागि पनि बजेट विनियोजन गरेको डाँगीले बताउनुभयो । रैथाने बालीको संरक्षण, बजारीकरण, संकलन तथा बिक्रीका लागि विशेष कार्यक्रम ल्याइएको छ। स्थानीय उत्पादनको बजार व्यवस्थापन गर्न नेपाल खाद्य संस्थानसँग सहकार्य गरी कृषकको उत्पादन सीधै बिक्री गर्ने व्यवस्था मिलाइने भएको छ।
त्यसका साथै दुई वटा बेलीब्रिज निर्माण गर्ने, मोटरसाइकल मर्मत केन्द्र, कम्प्युटर र ल्यापटप मर्मत केन्द्र स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ।
बिपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै गाउँपालिका अध्यक्षको विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको छ। उक्त छात्रवृत्ति पनि लाभग्राही विद्यार्थीको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको छ।
त्यस्तै, गाउँपालिका भरका उत्कृष्ट कर्मचारी, जनप्रतिनिधि, कृषक, उपभोक्ता समिति, स्वयंसेविका, शिक्षक तथा निर्माण कम्पनीहरूलाई नगद पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो।
गाउँपालिकाले आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र अन्य राजस्व अनुमानका आधारमा बजेटको ढाँचा तयार पारेको हो। बजेटमा क्षेत्रीय तथा शाखागत सीमा निर्धारण गर्दै प्राथमिकता पनि तोकिएको छ।
सभाध्यक्ष शाहीले बजेट सदुपयोगका लागि भौगोलिक, सामाजिक अवस्था र आवश्यकता अनुसार योजना छनोट गरेर कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाले प्राथमिक सेवाका क्षेत्रमा देखिएको माग तथा जनप्रतिनिधिहरूको सुझावलाई समेट्दै बजेट निर्माण गरेको जनाइएको छ। गाउँपालिका भित्रका भौगोलिक विकटता, पूर्वाधार अभाव, रोजगारीको चुनौती, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने खालको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।


