बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिका–७ स्याल काटिया नजिक शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१००१ ख ३१८१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनाग्रस्त बसमा जम्मा २५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि १४ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये ४ जनाको उपचार कोल्टी आधारभूत अस्पतालमा भइरहेको छ भने बाँकी १० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य सम्पन्न गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

